काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीको केन्द्रीय सदस्य अस्वीकार गर्नुभएको छ । पदाधिकारीतर्फ अध्यक्षका उम्मेद्वार रावलले निर्वाचन आयोगले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेद्वारमा पनि राखिदिएकोमा आपत्ति जनाउनुभएको छ ।
उहाँले आफ्नो उम्मेद्वारी सदस्यमा नभई अध्यक्षमा मात्रै भएको स्पष्ट पार्नुभएको छ । निर्वाचन आयोगले जानकारी र परामर्शविना आफ्नो नाम सदस्यमा पनि राखिदिएको बताउदै रावलले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएकाले आफ्नो लागि त्यो स्वीकार्य नरहेको बताउनुभयो ।
उहाँले आफू अध्यक्षमा चुनाव पराजित भए केन्द्रीय सदस्य पनि नरहने बताउनुभयो । आफूले कुरेर बरू बिहानैं चुनाव गरौं भनेर सुझाव दिए पनि रातारात मध्यरातमा निर्वाचन गर्नु गलत भएको समेत प्रतिक्रिया दिनुभयो ।
सदस्यता नवीकरण, वितरण र पदाधिकारी चयनमा व्यापक रुपमा गलत काम भएको उहाँले आरोप लगाउनुभयो । नेकपा एमालेको दशौं महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा र बाँकी केही केन्द्रीय सदस्यका लागि अहिले मतदान जारी छ ।