काठमाडौं: नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा। शेखर कोइरालाले आगामी फागुन २१ गते तोकिएको निर्वाचनका लागि सरकारको तयारी सुस्त देखिएको भन्दै समयमै निर्वाचन हुने विषयमा आशंका उत्पन्न भएको बताएका छन्।
आज शुक्रबार मोरङको सुन्दरहरैंचा नगरपालिका–४ मा स्थानीय कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा कोइरालाले सरकारको तयारीप्रति प्रश्न उठाएका छन्। उनले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै त्यसका लागि पार्टी पंक्तिलाई सक्रिय रूपमा तयारीमा जुट्न निर्देशन दिए।
नेता कोइरालाले नेपाली कांग्रेस निर्वाचनमा सहभागी हुन पूर्ण रूपमा तयार र आतुर रहेको उल्लेख गर्दै निर्वाचनबाटै प्रजातन्त्रको जग अझ बलियो हुने विश्वास व्यक्त गरे। उनले पार्टी यतिबेला निर्वाचनको मिति कुरेर बसेको अवस्थामा सरकार पनि गम्भीर भएर तयारीमा लाग्नुपर्ने सुझाव दिए।
कोइरालाले यी सबै विषय समयमै समाधान गर्दै स्वच्छ, निष्पक्ष र समयमै निर्वाचन सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।







