काठमाडौं: नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय संसदीय समितिले गरेको उम्मेदवार मनोनयनसम्बन्धी निर्णयलाई अनुमोदन गरेको हो।
पार्टी विधान र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार विभिन्न प्रदेश र समूहका लागि उम्मेदवार तय गरिएको कांग्रेसले जनाएको छ। कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर के.सी., कर्णाली प्रदेशबाट ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती राष्ट्रिय सभा सदस्यका उम्मेदवार रहेका छन्।
बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर र महेन्द्र यादव, सदस्य विजयकुमार गच्छदार र अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आ–आफ्ना धारणा राखेका थिए। पार्टीले राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरी संगठनात्मक गतिविधि सुदृढ बनाउने विषयमा पनि छलफल गरेको जनाएको छ।







