काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धतिविपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकपछि संयोजक तारामान गुरुङले पार्टीको मर्यादा र विधि उल्लंघन गर्ने जोसुकैलाई विधानअनुसार कारबाही गरिने स्पष्ट पारे ।
गुरुङका अनुसार गत आमनिर्वाचनका क्रममा पार्टीभित्र भएको अनुशासन उल्लंघन तथा अन्तर्घातसम्बन्धी विभिन्न जिल्लाबाट कुल ७ सय ५४ वटा उजुरी समितिमा परेका छन् । ती उजुरीमाथि समितिले गम्भीरतापूर्वक छानबिन गरिरहेको र अधिकांश उजुरीहरू टुंगो लगाउने प्रक्रियामा रहेको उनले बताए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया सुरु हुनुअघि नै सबै उजुरीमाथि निर्णय गरिसक्ने तयारी रहेको जानकारी दिए ।
उनले पार्टीभित्र अनुशासन कायम गर्न विधान र पद्धतिलाई कडाइका साथ कार्यान्वयन गरिने समेत बताए ।







