काठमाडाैँ :प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हिमाल आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउनेतर्फ सरकार क्रियाशील रहेको बताएका छन्। अन्नपूर्ण हिमाल आरोहणको ७५ औं वार्षिकोत्सव अर्थात हीरक महोत्सवको अवसरमा म्याग्दी जिल्लाको नारच्याङमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा विद्यमान जोखिमलाई न्यून पार्न सरकार गम्भीर रूपमा लागेको जानकारी दिए। साथै, उनले हिमाली पर्यटनलाई प्रवर्द्धन गर्न आवश्यक पूर्वाधार विकास र व्यवस्थापनमा जोड दिएको पनि बताए।
प्रधानमन्त्रीले म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने कालीगण्डकी ‘कोरिडोर’ को स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे।
कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको समेत उनले स्पष्ट पारेकाछन।
उनले ७५ वर्षअघि सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगको नेतृत्वमा रहेको टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरी नेपालको पर्वतारोहणको सम्भावनाको ढोका खोलेको स्मरण समेत गरे। प्रधानमन्त्री ओलीले अन्नपूर्ण हिमाल र नेपाललाई विश्वमा चिनाउन मौरिस हर्जोगद्वारा लिखित Annapurna पुस्तकले महत्त्वपूर्ण भूमिका खेलेको बताए।
साथै शेर्पा समुदायले हिमाली पर्यटनको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै उनले पर्वतीय पर्यटन क्षेत्रको दिगो विकासमा सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे।






