काठमाडौं । रसुवाबाट उद्धार गरी काठमाडौं ल्याइएका बाढीपीडितलाई नागार्जुनस्थित येलो गुम्बामा अस्थायी बसोबासको व्यवस्था गरिएको छ।
सुरक्षाकर्मीले उद्धार गरी ल्याएका करिब २५० जनालाई गुम्बामा राख्ने व्यवस्था मिलाइएको हो। नागार्जुन नगरपालिका–२ स्थित येलो गुम्बामा हाल करिब १०० जना बाढीपीडित आश्रय लिएर बसेका छन्।
नागार्जुन नगरपालिकाकी कार्यवाहक प्रमुख सुशीला अधिकारीका अनुसार पीडितलाई गुम्बाको मेडिटेसन हलमा राखिएको छ। उनीहरूको अवस्था बुझ्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिलगायतले शुक्रबार गुम्बाको निरीक्षण गरेका थिए।
कार्यवाहक प्रमुख अधिकारीले बाढीपीडितका लागि व्यक्तिगत तथा संस्थागत सहयोग जुटिरहेको बताइन्। उनका अनुसार पीडितको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य टोलीसमेत परिचालन गरिएको छ।
यस्तै, नेपाल रेडक्रस सोसाइटीले गुम्बामा आश्रय लिएका बाढीपीडितका लागि ५० थान मण्डी र ५० थान म्याट्रेस उपलब्ध गराएको छ।







