धादिङ, २४ असार: नुवाकोटतर्फको उपल्लो भेगबाट आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेसँगै धादिङमा दुई जनाको शव फेला परेको छ।
गजुरी गाउँपालिका–६ बेल्खु र गल्छी गाउँपालिका–२ केउरेनीमा फेला परेका शवहरू पुरुषको रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो।
यसैबीच, बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरिएको एक शव पनि नदीले बगाएको छ। चितासहित शव बगाएको जानकारी स्थानीय कुमार बस्नेतले दिनुभयो।
भारी वर्षाका कारण असार २३ गते रातिदेखि त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च भएपछि नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। धादिङ, नुवाकोट र रसुवाका प्रशासन कार्यालयले संयुक्त सूचना जारी गर्दै सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकको सुरक्षा निकायलाई तुरुन्त जानकारी गराउन अनुरोध गरेका छन्।






