काठमाडौं: नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयनका लागि निर्वाचन समिति गठन गरिएको छ। मंगलबार प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
निर्वाचन समितिमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहेका छन्। अब उक्त समितिले संसदीय दलको नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ।
यसअघि मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान भएको थियो। मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको थियो भने विपक्षमा २२ मत खसेपछि उनले दलको नेताको हैसियत गुमाएका थिए।
दलको नेतृत्व रिक्त भएकाले कांग्रेसले नयाँ नेता चयन प्रक्रिया चाँडै अघि बढाउने तयारी गरेको छ।







