काठमाडौं: गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई सुविधा पुग्नेगरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।
आज गृह मन्त्रालयमा आर्थिक वर्ष २०८२/८३ का लागि गृहसचिव, संगठन प्रमुख तथा विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उनले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध नियन्त्रणमा उल्लेख्य प्रयास भए पनि ठोस परिणाम आउन केही समय लाग्ने बताएका हुन्।
“लागुऔषध, सडक दुर्घटना, साइबर अपराध र आत्महत्या अहिलेका नयाँ चुनौती हुन्। यी क्षेत्रमा विशेष काम भएको छ तर परिणाम आउन समय लाग्छ। यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ,” मन्त्री लेखकले भने। उनले पश्चिम नेपालमा गएको भूकम्प र त्यसबाट हुनसक्ने क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको उल्लेख गर्दै चालु आवभित्र पुनःनिर्माण कार्य सम्पन्न गर्ने निर्देशन दिए।
गत आवमा तोकिएको माइलस्टोनअनुसार गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेको भन्दै मन्त्री लेखकले धन्यवाद ज्ञापन गरे। उनले थपे, “अहिलेको आवश्यकताअनुसार नयाँ नीति र योजना बनाएर अघि बढ्नुपर्छ। सीमित स्रोतसाधन, जनशक्ति र बजेटभित्र रहेर काम गर्नुपर्नेछ। सामूहिक कार्य भएकाले जस–अपजस पनि सामूहिक रूपमा लिनुपर्छ।”
नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक अघि बढाइए पनि प्रतिनिधिसभामा प्रविधिक कारण रोकिएको जानकारी दिँदै मन्त्री लेखकले पाइपलाइनमा रहेका कानुन–विधेयक यस महिनाभित्र दर्ता गर्ने कार्य अघि बढाउन निर्देशन दिए। उनले मन्त्रालयको नीतिगत तथा कानुनी सुधार प्राथमिकताको विषय भएको उल्लेख गर्दै सोहीअनुसार काम भइरहेको स्पष्ट पारे।







