रामेछाप काठमाडौं सृजनशील समाजले बृहत् खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा जम्मा ७१ जनाले रक्तदान गरेका छन्।
कार्यक्रम समाजका अध्यक्ष मदन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। रक्तदान कार्यक्रमबारे जानकारी दिँदै अध्यक्ष श्रेष्ठले आपतकालीन अवस्थामा रगतको अभाव नहोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
त्यसैगरी संस्थाका संस्थापक अध्यक्ष डा. कृष्णहरि बुढाथोकीले यो कार्यक्रम केवल रक्तदानमा सीमित नभई काठमाडौंमा रहेका रामेछापका नागरिकहरूलाई एक ठाउँमा भेला गराउने अभियानको हिस्सा भएको उल्लेख गरे। उनले समाजले सामाजिक एकता, सहकार्य र मानव सेवाका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका जिल्ला संयोजक बिपिन भट्टराईले रक्तदानसँगै रामेछापको उत्पादनलाई प्रयोगमा ल्याउने र त्यसको प्रवर्द्धनबारे छलफल गरिएको जानकारी दिए। “रक्तदान कार्यक्रम भए पनि हामीले रामेछापका उत्पादन, सम्भावना र पहिचानबारे कुरा गर्ने अवसर पनि बनायौं,” उनले भने।
काठमाडौंको नयाँ बानेश्वरस्थित नेपाल कमर्स क्याम्पस प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा प्राविधिक सहयोग कान्तिपुर अस्पताल ब्लड ट्रान्सफ्युजन सेन्टरले गरेको थियो। कार्यक्रमले सामाजिक उत्तरदायित्व र जिल्लागत पहिचानलाई सशक्त बनाएको रक्तदाता जक्त श्रेष्ठले बताए ।







