काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय क्याडेट कोर (एनसिसी) जस्ता कार्यक्रमले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
एनसिसी युथ एक्सचेन्ज प्रोग्रामअन्तर्गत सहभागीहरूका लागि राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले विभिन्न देशका युवालाई एकत्रित गरी अनुशासित, जिम्मेवार र भविष्यका नेतृत्वकर्ताको रूपमा विकास गर्ने कार्य सकारात्मक रहेको उल्लेख गरे। “यस कार्यक्रमले युवाहरूमा राष्ट्रसेवाको भावना जागृत गर्नुका साथै नेतृत्व र आत्मविश्वास अभिवृद्धि गर्ने काम गर्दै आएको छ,” उनले भने।
राष्ट्रपतिले यस्ता युवा आदानप्रदान कार्यक्रमले नेपाली सेना र मित्र राष्ट्रका सेनाबीचको सम्बन्ध सुदृढ बनाउनुका साथै क्याडेटबीच सीप, संस्कृति र परम्पराको आदानप्रदान गर्ने अवसर प्रदान गरेको बताए।
उनका अनुसार नेपाली क्याडेटहरूले हालै भारत, भुटान, पाकिस्तान र माल्दिभ्समा आयोजित युवा आदानप्रदान कार्यक्रममा सहभागिता जनाउँदै अनुभव साटासाट गर्ने अवसर पाएका छन्। यस्ता कार्यक्रममार्फत विभिन्न देशका सामाजिक, आर्थिक र सांस्कृतिक पक्षबारे बुझ्न सकिने उनले उल्लेख गरे।
“युवा आदानप्रदान कार्यक्रमले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउँदै विश्व एक साझा समुदाय हो भन्ने सन्देश प्रवाह गर्नेछ भन्ने मेरो विश्वास छ,” राष्ट्रपति पौडेलले बताए।







