काठमाडौं : संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा मा नवनिर्वाचित सदस्यहरूले शपथ लिएका छन्।
यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित १८ मध्ये १७ जना सदस्यलाई सोमबार आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले शपथ गराएका छन् ।
नेपालको संविधानअनुसार कुल ५९ सदस्य रहेको राष्ट्रियसभाका सदस्यहरूको पदावधि छ वर्षको हुन्छ। साथै प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल समाप्त हुने व्यवस्था रहेको छ।
शपथ लिने सदस्यहरूमा खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी, जगत तिमल्सिना, धर्मेन्द्र पासवान, प्रेमप्रसाद दङ्गाल, महन्थ ठाकुर, रञ्जित कर्ण, रामकुमारी झाँक्री, रेखाकुमारी झा, रोश्नी मेचे, ललितजङ्ग शाही, लिलाकुमारी भण्डारी, वासुदेव घिमिरे, सम्झना देवकोटा, सुनिलबहादुर थापा र सोमनाथ पोर्तेल रहेका छन्।
नवनिर्वाचित सदस्य मीनासिंह रखाल भने सोमबारको कार्यक्रममा अनुपस्थित रहेका थिए।







