सिन्धुली: सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाले थप विवाद उत्पन्न गरेको छ। घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेट अगाडि धर्नामा बसेका छन्।
सांसद खगेन्द्र सुनार, रीमा विश्वकर्मालगायतका सांसदहरू बुधबार बेलुकादेखि धर्नामा सहभागी भएका हुन्। उनीहरूले घटनामा संलग्नमाथि निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाही गर्न माग गरेका छन्।
सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका श्रीकृष्ण विकले खोटाङकी १६ वर्षीया किशोरीसँग प्रेम विवाह गरेका थिए। विवाह सम्बन्ध छुटाउन बालिका पक्षले ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा बलात्कारको उजुरी दिएपछि उनलाई वैशाख ३ गते पक्राउ गरिएको थियो। त्यसपछि ललितपुर प्रहरीले उनलाई सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयमा पठाएको थियो।
परिवारका अनुसार प्रेम विवाहकै कारण श्रीकृष्णलाई बलात्कार मुद्दामा फसाइएको हो। साथै हिरासतमा रहँदा आरोप स्वीकार गर्न दबाब दिइएको उनीहरूको आरोप छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार विकले सोमबार दिउँसो शौचालयको झ्यालमा आफ्नै सर्टको पासो लगाएर आत्महत्या गरेका थिए। प्रहरीले उनलाई झुन्डिएको अवस्थामा फेला पारेपछि अस्पताल पुर्याइएको जनाएको छ।
तर परिवार र आफन्तले भने प्रहरीको दाबीमाथि गम्भीर प्रश्न उठाएका छन्। मृतककी आमा विन्दा विकले छोरालाई सुरक्षाका लागि प्रहरीको जिम्मा लगाइएको अवस्थामा मृत्यु हुनु शंकास्पद भएको बताएकी छन्। घटनास्थलको फोटो वा भिडियो नदेखाइनु तथा मृत्यु भइसकेपछि मात्रै परिवारलाई खबर गरिनुले घटनामाथि थप आशंका पैदा भएको परिवारको भनाइ छ।
प्रहरीले मंगलबार राति नै पोस्टमार्टम गर्ने तयारी गरे पनि परिवारले सहमति दिएको छैन। यता दलित अधिकारकर्मीहरूले पनि घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै सिन्धुलीमा प्रदर्शन गरिरहेका छन्।
घटनाको अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।






