रामेछाप, लिखु तामाकोसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष केशव महतको अध्यक्षतामा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कुमारी खड्का प्रमुख अतिथिका कार्यक्रममा सम्पन्न भएको हो।
जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापा, जनस्वास्थ्य कार्यालय रामेछापका कार्यालय प्रमुख बिभु झा, गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष केशव महतले पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले अथक मेहनत गरेको बताउनुभयो। उहाँले गाउँ गाउँ र बस्ती बस्तीमा पुगेर नागरिकलाई खोपको महत्त्वबारे बुझाउँदै खोप लगाउने वातावरण निर्माण गर्नु चुनौतीपूर्ण भए पनि सामूहिक प्रयासबाट ठूलो उपलब्धि हासिल गरिएको उल्लेख गरे।
स्वास्थ्य शाखा प्रमुख किशोरी प्रसाद साह ले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासम्म आइपुग्न स्वास्थ्यकर्मी, स्वयंसेविका तथा स्थानीय समुदायको सक्रिय सहकार्य महत्वपूर्ण रहेको समेत बताए।
कार्यक्रममा वक्ताहरूले स्थानीय तहहरूले आधारभूत स्वास्थ्य सेवा तथा जनस्वास्थ्यका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजानुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन योगदान दिने सबै पक्षलाई धन्यवाद व्यक्त गरेका थिए।
लिखु तामाकोसी गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै बालबालिकाको स्वास्थ्य सुरक्षा र रोग नियन्त्रणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।






