काठमाडौं । बतासले भाडामा लिएर सञ्चालन गरीरहेको पशुपति धर्मशालाको निरीक्षण गरीएको छ । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आज बिहान त्यहाँ पुगेर निरीक्षण गरेका हुन् ।
आफु धर्मशाला निरक्षणका लागी आएको र सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए छन् । बतास समूहले नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको तयारी गरिरहेका बेला मन्त्री आलेले नै रोक लगाएर क्याफे सन्चालनका लागि बनाइएका भौतिक संरचना पनि भत्काउन निर्देशन दिएका थिए ।
पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा) मा हाल धर्मशाला होटल आनन्दको नामबाट संचालनमा छ । भारत सरकारको सहयोगमा बनेको नेपाल–भारत मैत्री धर्मशालामा अहिले बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।
धर्मशालामा होटलसगै हाल बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै भिन्टेज गाडीको सोरुम समेत छन् । बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको हो ।

