काठमाडाैं । छ्याङ्दी हाइड्रोपावरकाे हकप्रद शेयर बिक्री खुला गरेकाे छ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आजदेखि हाल कायम १० कित्ता बराबर नयाँ तीन कित्ता शेयरको अनुपात (१०ः३)मा प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ९३ लाख दुई हजार ५०० बराबरको आठ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयरकोे बिक्री खुल्ला गरेको हो ।
कम्पनीले पुस २१ मा बुकक्लोज गरेकोमा गत पुस २० गतेसम्म कारोबार भई कायम कम्पनीका शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेकाे छ ।
शेयरधनीले नक्सालमा रहेको ग्लोबल आइएमई क्यापिटल कार्यालय तथा ग्लोबल आइएमई बैंकको विभिन्न शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सि–आस्वा प्रणालीमार्फत शेयर दरखास्त फाराम बुझाउन सक्नेछन् ।
त्यस्तै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हकप्रदमा बिक्रीखुला भएको २१ दिनसम्म अर्थात् आगामी फागुन २ गतेसम्म आवेदन दिन सकिने छ ।
त्यस्तै इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ । हाल रु २९ करोड ७६ लाख ७५ हजार रहेको कम्पनीको चुक्ता पुँजी हकप्रद निष्काशन गरी बाँडफाँडपश्चात् रु ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ ।
हाल नारायणी डेभलपमेन्ट बैक र कर्पाेरेट डेभलपमेन्ट बैकले पनि राइट शेयर खुल्ला गरेका छन ।