जाल्पा सामुदायिक लघुवित्तको आईपिओ आज आइतबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज साँझ ५ बजे बालुवाटार स्थित टाइम्स स्क्वायर रेस्टुरेन्टमा आईपिओ बाँडफाँड गर्न लागेको जानकारी दिएकाे हो ।
कम्पनीको आईपिओमा माग भन्दा ६६.६५ गुणा बढीको आवेदन परेको थियाे । सिडीएसको तथ्यांकका अनुसार कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम साँझ ५ बजेसम्ममा २६ लाख ५९ हजार ५ सय ४० जना आवेदकले ३ करोड २५ लाख २० हजार ५ सय ८० कित्ताको लागि आवेदन दिएका छन् ।
कुनै पनि कम्पनीको आईपिओमा २६ लाख भन्दा बढी आवेदकले आवेदन दिएको यो नै पहिलो पटक हो । कम्पनीले माघ २१ गतेदेखि प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । माग भन्दा बढीको आवेदन परेकोले यस कम्पनीको आईपिओ गोलाप्रथाबाट वितरण हुने छ ।
जस अनुसार ४८ हजार ७ सय ९० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २६ लाख बढी आवेदक हात खाली हुने छन् । यद्यपि यो भेरिफाई हुनु अगाडीको डाटा रहेकोले यो संख्यामा केहि तलमाथि हुन् सक्ने छ।