काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै गठबन्धन र तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका छन् । उनले गठबन्धन र चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर छैन तर, आफुले पार्टीको निर्णय मानेको र यो विषयमा बहस गर्नुपर्ने बताएका हुन् ।
त्यस्तै तालमेलको राजनीतिक संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने पनि उनले बताएका छन् । उनले भने,‘स्थानीय कुरा भन्दा पनि गठबन्धनको विषयले चर्चा पाएको छ र संसदीय व्यवस्थामा दलहरूबीच तालमेल नहुने होइन तर हामी जुन तालमेलको राजनीतिक संस्कृतितर्फ जाँदै छौँ, त्यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन।’
थापाले एउटा पार्टीको चुनाव चिन्हबाट चुनाव जितेको व्यक्ति पाँच वर्ष जनप्रतिनिधि भएको व्यक्ति रातारात दल परिवर्तन गर्ने गरेको समेत बताएका छन् । नेपाली कांग्रेसले महामन्त्री एवं घोषणापत्र तयारी समितिका संयोजक थापालाई जिम्मेवारी दिएको छ भने समितिले घोषणापत्र तयार गरेपछि कांग्रेसले वैशाख ११ गते लोकतन्त्र दिवसका अवसरमा सार्वजनिक गर्नेछ ।
प्रमुख प्रतिपक्ष दल एमाले विरुद्ध मोर्चाबन्दी गरेको गठबन्धनले विगतका आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्न आग्रह गरेको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएपछि कांग्रेसले तत्काललाई उम्मेदवार सिफारिस नगर्न कार्यकर्तालाई निर्देशन दिएको थियो।
उता उक्त निर्णयप्रति शेखर कोइराला समूहका नेताहरुले असन्तुष्ट जनाएका छन् । कतिपय स्थानीय तहमा भने गठबन्धन भित्रका दलले उम्मेदवार घोषणा गरेका छन् ।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। स्थानीय निर्वाचनको अघिल्लो दिन वैशाख २९ मा १८ वर्ष उमेर पुग्नेले यसपटक मत खसाल्न पाउने भएका छन्।