काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्र देखि गाउँसम्म विभाजित भएर चुनावमा जाने छुट नभएको बताएका छन् । उनले नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले कांग्रेसलाई तीनै तहको निर्वाचनमा विजयी बनाउनेमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।
उनले केन्द्र देखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन । हाम्रा विरोधीहरू बलिया छन् र संगठित पनि तसर्थ हामी एक हौँ भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्ने बताए ।
कोईरालाले मतभेद र मनभेदका विषय पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जानुपर्ने भन्दै उनले पार्टी भित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखाको प्रवृत्ति विरुद्ध संघर्ष भने गरि रहने बताए । त्यस्तै ‘उम्मेदवार तय गर्दा निष्पक्षताको लागि हामी लड्ने छौं । तर प्रत्येक अनुकूल र प्रतिकुल परिस्थितिमा पनि हामी व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्ने छौँ भनी प्रण गर्नु आजको आवश्यकता हो’ कोइरालाले भनेका छन् ।