काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सूर्य चिन्ह कब्जा गर्न खोज्नेहरुको थुतुनो अहिले जलिरहेको टिप्पणी गरेका छन् । केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन नेकपा एकताको बेला आफूले दिएको बहुमत दुरुपयोग गर्न प्रचण्ड र माधव उद्धत भएर १९ पृष्ठ लामो फौजदारी अभियोग लगाएको बताए ।
ओलीले हनुमानले सूर्य सिध्याउँछु भन्दा आफ्नो मुख जलेको उदाहरण दिँदै भने, ‘हनुमानले जस्तै यिनीहरूले पनि एमालेको सूर्य सिध्याउँछौ भनेर खान खोजे तर उनीहरुकै थुतुनो अहिले जलिरहेको छ । एक वर्षअघि यिनीहरूले भयंकर षड्यन्त्र गरेर पार्टी र सूर्य कब्जा गर्न खोजेका थिए तर मैले जनमत खण्डित भएकाले प्रतिनिधिसभा भंग गरेर पार्टी जोगाएँ ।’
ओलीले आफूलाई प्रचण्ड र माधव समूहले फौजदारी अभियोगको १९ पृष्ठ लामो आरोप पत्र दर्ता गरी पार्टी अध्यक्ष, प्रधानमन्त्री सबै पदबाट हटाएर त्यही अभियोगका आधारमा थुन्नेसम्मको षड्यन्त्र गरेको बताए । उनले एमाले र माओवादीको एकता भंग भएर जनमत खण्डित भएपछि प्रतिनिधिसभा भंग गरेको पनि बताएका छन् ।
ओलीले अदालतले संविधान बाहिर गएर आफ्नो सरकार हटाएको न्यायाधीशले नै स्वीकार गरिसकेको बताए ।