दोलखामा बुधबार विभिन्न कार्यक्रम गरी ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । दोलखाको सदरमुकाम चरिकोटमा ‘लैङगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार’ भन्ने मुल नाराका साथ ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको हो ।
दिवसको अवसरमा भिमेश्वर नगरपालिकाका वडा नम्बर ५ का महिलाहरुद्धारा पन्चेबाजा र जिल्लाका महिलाहरुको सहभागितामा सातदोबाटो देखि भिमेश्वर नगरपालिकाको भवनसम्म बृहत र्याली आयोजना गरिएको थियो । कार्यक्रममा दोलखाका वरिष्ठ प्रहरी नायब निरिक्षक पुष्पा विष्ट, भिमेश्वर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सुर्जा दाहाल र महिला अधिकारकर्मी एवं पूर्व कार्यापालिका सदस्य रुपा शाही भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
दिवसको अवसरमा भिमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरले महिलालाई अवसरबाट वञ्चित गराउनु र उनीहरुलाई विभेद गर्नु संकिर्णता र पुरातन सोचको उपज भएको बताउनुभयो। उहाँले महिला पुरुष दुबैलाई सामाजिक,आर्थिक,सांस्कृतिक र राजनैतिक सबै क्षेत्रमा समान अवसर र अधिकार प्रदान गर्नु पर्ने बताउनुभयो।