कमला थापा, सानिमा।
छोरी रमिला,
साँझमा अस्ताएको घाम पनि अर्को दिन बिहानै एक पिठ्युँ न्यानोपन बोकेर आउँछ। र त घाम अस्ताउनुलाई उज्यालो सकिनु मान्दिन म।तर छोरी, तिमी त्यस्तो नफर्किने घाम बनेर अस्तायौ कि-जहाँ तिमीले छोडेपछिको हाम्रो कुनै बिहान ‘उज्यालो’ बोकेर आउन सकेन।
“सानीमा, म घर गएँ चाबी लिनुस्” भनेर मेरो हातमा चाबी थमाउँदै बिहाँन झिस्मिसेमै बिदाइको हात हल्लाएर निस्केकी तिमी, दशैको चाप अनि तिम्रो यात्रा। तिमी घरबाट निस्कने बित्तिकै म पनि उठे बच्चालाई उठाउदै थिए फोन आयो सानी गाडी चढे है!! मैले ल बिस्तार जानू भने दसैले घेरी सकेको थियो।
बच्चालाई खाना खुवाएर स्कुल पठाउन तयार मात्र के भएकी थिए फोन आयो रमिला चडेको गाडी दुर्घटना भयो रे!! उफ्फ म थचक्क बसे र भने हे भगवान केही नहोस। भए जति सबै भगवान भाके तर कान नसुन्य भगवानले मेरो आवाज सुनेनन। एक्कै छिनमा विभिन्न अनलाइन मिडियाहरुमा समाचार आए काभ्रेमा माइक्रो दुर्घटना रनिलाको घटना स्थलमै मृत्यु। छोरी फेरि तिनै हात हल्लाउँदै “सानीमा म आएँ है” भन्न कहिल्यै आइनौ। म कुर्न छाडेकी पनि छैन।
छोरी, जब जब आँखाभरी तिमी भरिन्छ्यौ नि तब तब आँखाभरी भरिएकी तिमीलाई नै डुबाउने गरी भरिन्छन्-आँसु मेरा।”छोरी, घुम्न जाउँ” भन्दा “पछि घुमौंला नि पहिला नाम त निकालूँ।अहिले पढ्ने बेला हो नि” भनेर राती तीन बजे उठेर पढ्ने तिम्रो साहस किन मृत्युको अघि यतिबिघ्न शीर नै उठाउन नसक्ने गरि निहुरियो छोरी किन?
हुन त सबै सपना पूरा त भगवानको पनि हुन्न भन्छन्।हामी मानिस हौं। यसरी मन सम्हाल्न खोजिरहन्छु, सक्दै सक्दिन। हुन त हामी समयको निर्देशनमा जीवन नामको चलचित्रमा अभिनय गर्ने पात्र न हौं।जस्तो पनि अभिनय गर्नुपर्छ। यसरी पनि मन बुझाउन खोज्छु छोरी, अहँ सक्दै सक्दिन।त्यसरी अभिनय गराउने भाग्य नामको निर्देशकले किन एक्सन भन्ने ठाउँमा कट् भन्यो यति चाँडै तिमीलाई ?किन तिम्रा रहरहरुसँग अराजक खेल खेल्यो? प्रश्नहरुले मलाई कयौं पटक उठ्नै नसक्ने गरि थिच्छन् छोरी, थिचिरहन्छन्।मैले कहिल्यै सोचेको थिइन छोरी, यो अभिनयको क्रममा तिमीलाई सारा सपनाहरुको अधुरो भुङ्रोमा छोडेर सुटिङ “प्याक अप्” गर्ला भनेर।
एउटा पात्रको रोल नसक्किँदै सकिएको चलचित्र जस्तो अधुरो बन्छ नि, ठिक त्यस्तै अधुरा बनेका छन् तिमीबिना हाम्रा हर दैनिकीहरु। मुख्य पात्रलाई झिकेर अरु पात्रहरु मात्र राखेर बनेको चलचित्र हेर्दा केके छुट्यो जस्तो हुन्छ नि, त्यस्तै भएको छ, तिमीबिनाका दृश्यहरु हेर्न मलाई।
छोरी,जब जब तिम्रै उमेरका साथीहरु मेरो आँखाको बाटो गरेर हिँड्छन् नि, म त्यहीँनेर हुरुक्कै हुन्छु- तिम्रो सम्झनामा।अस्पताल जान्छु कहिलेकाहीँ बिसन्चो हुँदा। नर्सहरु, डाक्टरहरु मलाई अहिले कस्तो छ? भनेर सोध्न आउँछन्।त्यो आवाजमा म तिमीलाई खोजिरहन्छु। तिम्रो डाक्टर बन्ने सपनालाई सम्झिरहन्छु।जब त्यो आवाज तिम्रो होइन भनेर चाल पाउँछु, मलाई मेरै आवाज मेरो नभएझैं हुन्छ।स्कुल कलेज, तिमी हिँड्ने बाटाहरुको जब म छेउ पर्छु, तब मलाई आफैंदेखि पर पुगूँ पुगूँ लाग्छ। तर, डालीबाट चुँडिएको कोपिला सम्झिन्छु।त्यो चुँडिएको ठाउँको खत बोकेर पलाईरहेको त्यही फूलको रूख सम्झिन्छु, एक कित्ता जीवन फेरि बाँचिदिउँ भएर आउँछ।
छोरी एक दिन जाने बाटो सबैको उही हो।झर्नकै लागि/टिपिनकै लागि हुन् फूलहरु फुल्ने पनि।समय ढिलो चाँडो मात्र रहेछ। माछीले पानीलाई कहाँ, सक्छ बिर्सन? आमाको ममता कहाँ कमी हुन्छ र सन्तानको लागि।
तिमी छुट्नुको पीडामा जस्तो जीवन हामी बाँचिरहेका छौँ, तिम्रो गन्तब्य यस्तो पीडादायी छैन होला भन्ने अपेक्षा छ।गाह्रो त बियोगमा बाँच्दा हुने रहेछ छोरी। कसैले फूल चुँड्यो भनेर डालीले फूललाई बिर्सिँदैन।बिर्सिनेछैनौं हामी पनि तिमीलाई कहिल्यै। यो जुनीमा जेजे अपुरा रहे तिम्रा रहरहरु, अर्को जुनी हामी यही आफ्नोपनमा गाँसिन पाउँ र हेर्न पाउँ तिम्रा सपनाहरुको प्राप्ती।पल पल सम्झिरहनेछौं छोरी, यो सासले धड्किन नछोडेसम्म।मिस्यु य