हेटौंडा/ बिहीबार श्रम तथा रोजगार कार्यालय मकवानपुरले बालश्रममा लगाउने च्याउ खेतीका संचालकलाई पाँच हजार रुपैयाँ जरिवाना गराएको छ । बाल हेल्पलाइन मकवानपुरका संयोजक झबिन्द्र ज्ञवालीकाअनुसार गत सोमबार ६ बालबालिकालाई श्रममा लगाएको भन्दै च्याउ खेतीबाट उद्दार गरिएको थियो । ती बालबालिकालाई श्रममा लगाउने च्याउ खेतीका संचालक प्रकाश खतिवडालाई जरिवाना गराएको ज्ञवालीले जानकारी दिए ।
यस्तै बालबालिकाको पारिश्रमिक पनि खतिवडालाई दिलाएको छ । हेटौंडा-१५, चिप्लेटीका १२ वर्षीय बालक र १६ वर्षीय बालकलाई एक महिना ६ दिन श्रममा लगाएको भन्दै २१ हजार ९ सय ७६ रुपैयाँ पारिश्रमिक दिलाएको छ । यस्तै हेटौंडा-१५, नयाँबस्तीका १२ वर्षीय बालकलाई तीन दिन श्रममा लगाएको भन्दै ५ सय रुपैयाँ पारिश्रमिक तथा यातायात खर्च दिलाएको ज्ञवालीले जानकारी दिए ।
यसैगरी हेटौंडा-१, का १६, १४ र १३ वर्षीय बालकलाई ४ दिन श्रममा लगाएको भन्दै ४ सय रुपैयाँ पारिश्रमिक तथा यातायात खर्च दिलाएको बताए । खतिवडाले हेटौंडा-८,१६ र मकवानपुरगढी-६, मा खेती गर्दै आएका च्याउ खेतीमा ती बालबालिकालाई श्रममा लगाएका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण ती बालबालिका फेरि श्रममा आउन नदिन खाद्यान्न समेत बाल हेल्पलाइन मकवानपुरले सहयोग गरिएको छ भने पुन: विद्यालय पढ्ने वातावरण निर्माण गरिने ज्ञवालीले जानकारी दिए ।