रामेछाप, असार ७ : सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभा शनिबार हिलेदेवीस्थित सभा हलमा बसेको थियो, जसमा अध्यक्ष ठुलो कान्छा तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
कार्यक्रममा उपाध्यक्ष गीता विष्ट (चौलागाई), प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
‘समृद्ध, उद्यमी, सुखी सुनापति – कृषि, पर्यटन र शिक्षा हाम्रो सम्पत्ति’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको नीतिले कृषि, पर्यटन, रोजगारी, सामाजिक न्याय र सेवा प्रवाहलाई प्राथमिकता दिएको छ।
गाउँपालिकाले बाँझो जमिनलाई उत्पादनशील बनाउने लक्ष्यसहित १०० देखि ५०० रोपनीसम्मको जग्गामा व्यावसायिक खेती गर्ने समूहलाई अनुदान दिने नीति ल्याएको छ। साथै, ‘एक घर, एक बगैँचा’ कार्यक्रममार्फत फलफूल, तरकारी, नगदेबाली र बुद्ध चित्त माला उत्पादनमा समेत स्थानीयलाई प्रोत्साहन गरिनेछ।
साना तथा घरेलु उद्योग प्रवर्द्धनको उद्देश्यले थाङ्का, गलैंचा, पेन्टिङ, चिया प्रशोधन जस्ता व्यवसायिक सीपका क्षेत्रमा आधारित ‘सिप मेला’ आयोजना गरिने योजना पनि सार्वजनिक गरिएको छ। यसबाट युवाहरूलाई रोजगारी तथा उद्यमशीलता विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले वडा स्तरमै राष्ट्रिय परिचयपत्र वितरण गर्ने, त्रैमासिक आय–व्यय विवरण सार्वजनिक गर्ने तथा शहीद, बेपत्ता परिवार र घाइतेलाई सूचीकृत गरी सम्मान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।
‘बेरुजुमा जिरो, लिजामा हिरो’ नारालाई निरन्तरता दिँदै यस वर्ष शून्य बेरुजु लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ।
यद्यपि अधिकांश कार्यक्रमहरू विगतका वर्षहरूमै आधारित रहेका कारण केही स्थानीयबासीले ‘नयाँपनको कमी रहेको’ प्रतिक्रिया दिएका छन्।
गाउँसभामा दुईवटा संशोधन प्रस्ताव पनि दर्ता गरिएका छन्, जसबारे छलफल गरी असार १० गते बजेटसहित पारित गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।