मन्थली, रामेछाप।
एन्टीभाइटिक औषधिको समुचित प्रयोग र Antimicrobial Resistance कम गर्नका लागि मन्थली अस्पतालमा पिसाब र रगतको कल्चर सेवा शुभारम्भ भएको छ।
उक्त सेवाको उद्घाटन मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठले गरेका हुन्। उनले सेवाग्राहीकै मूल्याङ्कनबाट अस्पतालको कामको स्तर निर्धारण हुने भएकाले स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ उत्कृष्ट काम गर्नुपर्नेमा जोड दिए। साथै, बिरामी अस्पताल आउँदा उनीहरूलाई सरल व्यवहार र मुस्कानसहित सेवा दिन आग्रह गर्दै, स्वास्थ्यकर्मीको व्यवहारले पनि उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा मन्थली नगरपालिका–१ का वडा अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका सदस्य होम प्रसाद पौडेल, मन्थली–४ का वडा अध्यक्ष नवीन कार्की, स्वास्थ्य शाखा प्रमुख केशव फुयाल, अस्पतालका मेसु केशव धामी तथा ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।







