काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गलाई छिट्टै सञ्चालनमा ल्याउन सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन्।
बिहीबार बीपी राजमार्गको स्थलगत अनुगमनका क्रममा मन्त्री घिसिङले संघीय राजधानी काठमाडौंलाई बागमती, मधेश र कोशी प्रदेशका जिल्लासँग जोड्ने लाइफलाइन सडकलाई शीघ्र पुनः सञ्चालनमा ल्याउने आवश्यकता औंल्याउँदै तदारुकताका साथ काम गर्न निर्देशन दिनुभयो।
अनुगमन टोलीमा मन्त्री घिसिङसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसी लगायतका अधिकारी सहभागी थिए।
गत वर्षको बाढीले भकुण्डे–नेपालथोक खण्ड क्षति पु¥याएको बीपी राजमार्ग अस्थायी डाइभर्सनमार्फत सञ्चालनमा ल्याइएको थियो। तर, यस वर्ष पुनः बाढीले करिब ४ किलोमिटर सडक पूर्णरूपमा बगाएको छ।
स्थायी पुनर्निर्माणका लागि केही खण्डमा ठेक्का सम्झौता भइसकेको र बाँकी खण्डको सम्झौता अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।







