काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गते हुने निर्वाचनमार्फत नयाँ संसद् गठन र संविधानलाई सही मार्गमा अघि बढाउने बाटो स्पष्ट रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको धारणा प्रष्ट रूपमा प्रस्तुत गरिएको उल्लेख गरेका छन्। उनका अनुसार, यही निर्णय नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि आधिकारिक मत हो।
‘नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा केवल भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ,’ उनले लेखेका छन्, ‘यस विषयमा कुनै द्विविधा राख्नु आवश्यक छैन।’
महामन्त्री थापाले पार्टीभित्र देखिएको अलमल निर्वाचनसँग सम्बन्धित नभई अधिवेशन प्रक्रियासँग मात्र जोडिएको स्पष्ट पारेका छन्।
उनका अनुसार, ‘निर्वाचनअघि अधिवेशन सम्पन्न हुनुपर्छ, किनकि त्यसबाट आउने नीति र नेतृत्वले मात्र कांग्रेसलाई चुनावका लागि तयार बनाउँछ।’ उनले जोड दिँदै भने, ‘अहिलेको छलफल र अलमल अधिवेशनबारे हो, फागुन २१ गतेको निर्वाचनबारे होइन।’







