काठमाडौँ: नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रत्येक प्रदेशबाट १/१ जना उम्मेदवार रहने गरी कांग्रेससँग सहकार्य गर्ने विषयमा छलफल गरेको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
बैठकले कांग्रेससँग गठबन्धनका सिट टुंगो लगाउने र उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। कांग्रेससँगको छलफल अझै निष्कर्षमा नपुगेकाले थप संवादका लागि अध्यक्ष ओलीलाई जिम्मा दिने निर्णय गरिएको भट्टले बताए।
यस्तै, बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि विभिन्न कमिटी गठन गर्ने निर्णय पनि गरेको छ।
अध्यक्ष ओलीको संयोजकत्वमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा ईश्वर पोखरेल, प्रदीप ज्ञावली र विष्णु रिमाल सदस्य रहने गरी घोषणापत्र मस्यौदा समिति गठन गरिएको छ।
त्यसैगरी, एमाले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिष्म अधिकारी सदस्य रहने गरी निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ।







