काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई अझ प्रभावकारी बनाइनुपर्ने आवश्यकता औँल्याएका छन्।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज भएको चलचित्र विधेयकमाथिको दफावार छलफलका क्रममा उनले बोर्डमा बहुमत सदस्य बाहिरबाट आएका विज्ञहरू रहने भएकाले उनीहरूले सिनेमा उपयुक्त ठहर गरेपछि बोर्ड अध्यक्षले भिटो प्रयोग गर्नु उचित नहुने बताए।
मन्त्री खरेलले चलचित्र प्रमाणीकरणलाई अनावश्यक रूपमा डर र त्रासको विषय बनाउन नपर्ने उल्लेख गर्दै चलचित्र विकास बोर्डको कर्तव्य र भूमिकालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। तर, बोर्डको कार्यशैलीलाई व्यवस्थित र सन्तुलित बनाउन ‘चेक एन्ड ब्यालेन्स’ आवश्यक रहेको उनले स्पष्ट पारे।
यता, समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयकमाथि दफावार छलफल निरन्तर जारी रहेको र विधेयकलाई सकेसम्म छिटो टुंगोमा पुर्याउन समिति सक्रिय रहेको जानकारी दिइन्।







