रामेछाप: जिल्ला सदरमुकाम मन्थलीमा सोमबारदेखि स्थानीय कृषिउपज बिक्री केन्द्र सञ्चालनमा आएको छ । ‘किसानको बारीदेखि तपाईँको थालीसम्म’ भन्ने मूल नाराका साथ तामाकोसी एग्रो एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिले केन्द्र सञ्चालनमा ल्याएको हो ।
स्थानीय उत्पादन मात्र बिक्री गर्नेगरी स्थापन गरिएको उक्त बिक्री केन्द्र मन्थलीका नगर प्रमुख लव श्रेष्ठले एक कार्यक्रमकाबीच केन्द्को शुभारम्भ गर्नुभयो ।
साना किसानहरूको उत्पादनलाई खरिद बिक्री गरिदिने उद्देश्यले स्थापना गरिएको केन्द्रमा नगदेबालीअन्तर्गत अदुवा, बेसार, लसुन, विभिन्न प्रकारका गेडागुडी, मौसमअनुसारका तरकारी तथा स्थानीयस्तरमा उत्पादन भएका जुनार, सुन्तला, कागती केरालगायत सामग्री बिक्री गरिने जिल्ला कृषि सहकारी सङ्घका सचिव भानुभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
आगामी दिनमा जिल्लामा उत्पादन भएका सबै कृषिउपज र हस्तकलाका सामग्री राखेर कोसेली घरका रूपमा विकास गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
साना किसानले उत्पादन गरका तरकारी तथा गेडागुडी यसअघि डोकोमा बोकेर मन्थली बजार घरघरमा पुगी बिक्री गर्नुपर्ने बाध्यता थियो । केन्द्र सञ्चालनमा आएसँगै बजारीकरणको समस्या अन्त्य हुने स्थानीय किसान बताउँछन् ।







