हेटौंडा। बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौंडामा दुई दिने महिला आत्मरक्षा प्रशिक्षक पुनर्ताजगी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्यतामा, परिषद्का सदस्य सुरज थापा मगर (किरण)को अध्यक्षता तथा कार्यालय प्रमुख रमेश घिमिरेको आतिथ्यतामा सम्पन्न भएको हो।
तालिमका प्रमुख प्रशिक्षक सन्जु महर्जन र प्रशिक्षक विष्णु श्रेष्ठ थिए। तालिममा महिला प्रशिक्षकहरूको सिप अद्यावधिक गर्दै आत्मरक्षा प्रशिक्षण दिन सक्ने क्षमताको विकास गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्ष चौलागाईंले युवाहरूलाई सिप र रोजगारीसँगै नेतृत्वदायी भूमिकामा ल्याउनु परिषद्को मुख्य लक्ष्य भएको बताए। “युवा सम्मेलनदेखि नमुना युवा संसद सम्मेलनसम्मको उद्देश्य नै युवालाई नेतृत्वमा ल्याउनु हो। युवा परिचालन गर्न सकियो भने देश बनाउँन धेरै समय लाग्दैन,” उनले उल्लेख गरे।
उनले हाल परिषदले स्रोत अभावका कारण सीमित मात्रामा काम गरिरहेको जनाउँदै भने, “स्रोत सामान्य दिने अनि काम गर भनी निर्देशन दिनु हात बाँधेर भात खा भन्नुजस्तै हो।” प्राप्त स्रोत र अधिकार दिएर काम गर्न पाउने हो भने दुई वर्षभित्र प्रदेश समृद्ध बनाउने योजना रहेको उनले दाबी गरे। कार्यक्रमले प्रदेशका युवामाझ आत्मरक्षा र नेतृत्व विकास दुबैको सन्देश पुर्याएको छ।






