ज्ञानकुमार श्रेष्ठ
१०० वर्षपछि शान्तपूर्वक बिदा भए – हाम्रो शेरबहादुर काका।
काकाको निधन केवल एउटा व्यक्तिको मृत्यु थिएन, त्यो थियो एक युगको अन्त्य। जीवनभर प्रकृतिसँग घुलमिल भएर बाँच्न जानेका, बिरामी परेर अस्पताल नगएको, झुट बोलेर कहिल्यै प्रपञ्च नगरेका, श्रम गरेर जीवन बिताएका एक सज्जन आत्माको यात्रा पूर्ण भयो।
शेरबहादुर काकाको जीवन नियाल्दा यस्तो लाग्छ—स्वस्थ जीवनशैली भनेको बजारका डाक्टर वा औषधिमा सीमित हुँदैन। स्वास्थ्य भनेको प्रकृतिसँगको सहअस्तित्व, माटोसँगको सामीप्यता, अनि बोली र व्यवहारको पवित्रता पनि हो।
वन, पानी र प्राकृतिक स्वास्थ्यशैली
काकाले जीवनभर अस्पताल देख्नुपरेन। यो भन्नु मात्र होइन, बुझ्नुपर्ने गम्भीर सन्देश पनि हो। हामी—पछिल्लो पुस्ताका साक्षी—उहाँसँग वनतिर जाँदा किरा फुर्तफुर्त बगिरहेको पानीलाई बोटाको थैली बनाएर पिउँथ्यौं। खोल्साका ढिकढिके पानी सुइँसुइँ बग्ने सानो स्रोतमा दुई हात टेकेर वस्तुजस्तै पानी पिउँदा हामीलाई लाग्दैनथ्यो, यो पानीले केही असर गर्छ। तर त्यही नै थियो शुद्धताको परिभाषा।
उहाँले कहिल्यै शरीरको ‘प्रोटोकल चेक’ गर्नु परेन। खानेकुरा बाउबाजेले जे खाइपी आएका, त्यही चाल चलनको निरन्तरता थियो। विषादी, प्लास्टिकको स्वाद र चाउचाउ संस्कृति गाउँमा ढिलो आयो। त्यसपछि आयो रोगहरूको पाइला। अनि बल्ल सम्झिन थाल्यौं—‘स्वस्थ’ भन्नु भनेको केवल बिरामी नहुनु मात्र होइन, जीवनशैलीको सुन्दरता पनि हो।
जसले झ्यालीमा आत्मा हाल्थे
शेरबहादुर काका नेवार समुदायको ‘भ्यजु’ थरका हुनुहुन्थ्यो। नेवार संस्कृतिको अभिन्न अङ्ग ‘भजन र झ्याली’ उहाँका जीवनका प्राण थिए। झ्याली बजाउने उहाँको तरिका यस्तो थियो, जसको पूर्ण नक्कल कसैले गर्न सकेन। उहाँका दाजु चक्रबहादुर काकाले झ्याम्टा बजाउनुहुन्थ्यो, र उहाँले झ्याली। ती धुनहरू केवल आवाज थिएनन्, भावना थिए। सामूहिक चेतनाको स्पन्दन थियो।
भजन, पूजाआजा, चोकको निर्माण, बहालको संस्कृति—यी सबै उहाँहरूको पुस्ताले सुम्पेको सम्पदा हो। आज हामी, आजका युवाहरू, यदि यिनै सम्पदाको मूल्य थाहा नपाई बाँच्यौं भने हाम्रो जरा सुक्ने खतरा छ।
पढाइ, पसीना र पहिचान
शेरबहादुर काकाको बुबा शिक्षित हुनुहुन्थ्यो। उहाँहरूसँगै हिरालाल र गोपीलालले पढ्ने लेख्ने सीप सिके। कसैले तमसुक लेखे, कसैले व्यावसायिक हैसियत बनाए। तर काकाको सन्तानहरूले भने लेखपढको औपचारिकता धेरै अघि बढाएनन्, तर इमान, श्रम र शालीनताको गहिरो आधार बनाइरहे।
त्यही नै थियो—उहाँहरूको पहिचान।
विरासत: अबको पुस्ताका लागि सन्देश
यो फिचर लेखिएको सन्दर्भ मात्रै स्मरण होइन, चिन्तनको आह्वान पनि हो। आजको पुस्ताले सोच्नुपर्छ—हामी कहाँ जाँदैछौं? हाम्रो स्वास्थ्य केवल अस्पतालमा निर्भर हुने हो? हाम्रो परम्परा केवल तस्बिर र स्टाटसमा सीमित रहने हो?
हाम्रो बाँचाइलाई अब प्रकृतिपरक, मूल्यकेन्द्रित र संस्कृतिसँग जोडिएको बनाउनु अपरिहार्य छ। हामीले वृद्ध पुस्ताबाट आत्मसात् गर्ने कुरा—इमानदारी, श्रमशीलता, सामुदायिक भावना र संस्कृति—यी कुराहरूको पुनर्जीवन गरिनुपर्छ।
समबेदना
शेरबहादुर काकालाई श्रद्धाञ्जली दिनु केवल मलामी जानु मात्र होइन। उहाँको जीवनशैली, उहाँको आदर्श र उहाँको सादगीलाई सम्मान गर्नु पनि हो।
काका, तपाईंलाई सम्झिँदा तपाईंको साथमा बिताएका ती सादा पलहरू आँखाभरि आउँछन्। ती झ्यालीका धुन, बहालको चोक, पातको बोटामा पिएको पानी, अनि त्यो मुस्कान… तपाईंको देह त गयो, तर आत्मा—यो गाउँ, यो समाज र यो स्मृतिमा सधैं जिउँदै रहनेछ।
काकाका सुपुत्रहरू – तीर्थ दाइ, खड्क दाइ, तेजबहादुर जी र नरबहादुर जी लगायत परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै…
उहाँको जीवन नै हाम्रो लागि पाठशाला हो।
श्रद्धाञ्जली!







