मन्थली :निर्माण व्यवसायीले तोकिएको समयमै काम नसक्दा रामेछापका प्रमुख सडकहरू हिलाम्मे र अवरुद्ध भएका छन्। ग्रामीण सडकहरू भासिने, पहिरो जानु र हिलोका कारण सवारी आवागमन समेत प्रभावित भएको छ।
जिल्ला पूर्वाधार विकास कार्यालयमार्फत निर्माण भइरहेका मन्थली–पकरबास–गोगनपानी–गाल्वा, सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी, र खिम्ती–रस्नालु–ठोसे सडक निर्माणमा व्यापक ढिलाइ भएको हो।
निर्माण समयमा नसक्दा स्थानीयको आक्रोश
सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडकमा असोज महिनामा कालोपत्र गर्ने योजना भए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन। निर्माण ढिलाइप्रति असन्तुष्टि जनाउँदै स्थानीयले केही महिनाअघि पूर्वाधार कार्यालयमा तालाबन्दीसमेत गरेका थिए। तर, कार्यालय र निर्माण कम्पनीले व्यक्त गरेको प्रतिबद्धता पूरा नभएको मन्थली नगरपालिका–१ का पाण्डव सुवेदीले जानकारी दिए।
त्यस्तै, मन्थली–पकरबास–गोगनपानी–गाल्वा सडकखण्ड अन्तर्गत पकरबास–गाल्पा खण्ड कालोपत्र गर्न २०७९ असार मसान्तसम्मको म्याद तोकिएको थियो। तर, एक वर्ष बितिसक्दा पनि काम अलपत्र छ, जसका कारण सडक हिलोमै परिणत भएको छ।
करोडौंको ठेक्का, काम अधुरै
पकरबास–गोगनपानी–गाल्वा सडकको कालोपत्रको जिम्मा अर्याल ब्रदर्श र दिवा भुवनेश्वरी जेभीले ४३ करोड रुपैयाँमा लिएका थिए। यस्तै, गोगनपानी–धुलेबेसी–भोटनागी सडक (७.५ किमी) को जिम्मा १७ करोड रुपैयाँमा गरिमा रौताहा सगुन र पाँचपोखरी कन्स्ट्रक्सन जेभीले लिएको थियो। ठेक्का सम्झौताअनुसार १८ महिनामा सकिनुपर्ने काम चार वर्ष बितिसक्दा पनि पुरा हुन सकेको छैन।
निर्देश र चेतावनी बेवास्ता
खाँडादेवी गाउँपालिका–४ का अध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार निर्माण कार्यको अनुगमनमा कमजोरी देखिएकाले पूर्वाधार कार्यालय पनि जिम्मेवार छ। उता खिम्ती–रस्नालु–ठोसे सडक पनि अत्यन्तै जीर्ण अवस्थामा छ। उत्तरी रामेछापमा जाने सवारी साधनहरू घण्टौँसम्म हिलोमा फस्ने अवस्था रहेको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले बताए।
कारबाहीको चेतावनी
जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख जनेन्द्रप्रसाद पुनका अनुसार तोकिएको समयमै काम नगर्ने निर्माण कम्पनीहरूलाई पटक–पटक सचेत गराइसकिएको छ। उनले आवश्यक परे ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाउने बताएका छन्।







