रामेछाप — श्री प्रगतिशील माध्यमिक विद्यालय, भिरपानीमा चारघरे सेवा समितिको पहल र प्रायोजनमा विशेष सहयोग कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा योगदान पुर्याउने उद्देश्यले सम्पन्न उक्त कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति तथा शुभेच्छुकबीच परामर्श एवं छलफल पनि गरिएको थियो।
उक्त अवसरमा चारघरे सेवा समितिले विद्यालयका विद्यार्थीहरूलाई आवश्यक पर्ने झोला, राशन, खेलकुद सामग्री, स्टेशनरी तथा स्वास्थ्य टूल बक्स सेट हस्तान्तरण गरेको छ।
कार्यक्रममा समितिका प्रतिनिधि तथा विभिन्न व्यक्तित्वहरूको हातेमालोमा सामग्रीहरू विद्यालयलाई प्रदान गरिएको हो। सहयोग कार्यक्रमले विद्यालयको पठनपाठन वातावरण सुधारका साथै विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थप्ने अपेक्षा लिइएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकद्वारा चारघरे सेवा समितिप्रति कृतज्ञता व्यक्त गर्दै भनियो, “समितिको यस प्रकारको सहयोगले विद्यालयको स्तर वृद्धि हुने विश्वास लिएको छ। हामी सम्पूर्ण सहयोगी मनहरूलाई मुरी मुरी धन्यवाद व्यक्त गर्छौं।”
स्थानीयस्तरमा सामूहिक उत्तरदायित्व र सहभागिताको उदाहरण स्वरूप यस कार्यक्रमलाई समुदायले निकै सकारात्मक रूपमा लिएको छ।







