काठमाडौं: काठमाडौं महानगरपालिकाले मनोहरा नदी किनारमा अवैध रूपमा बनाइएको सुकुम्बासी बस्तीमा डोजर चलाएपछि स्थानीय आक्रोशित बनेका छन्। शुक्रबार बिहान डोजर पुगेसँगै स्थानीय सुकुम्बासीहरूले महानगरको नगर प्रहरी र नेपाल प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्।
महानगरको नगर प्रहरीको टोली सुकुम्वासी बस्तीमा नयाँ बनेका घर टहरा हटाउन डोजर लिए पुगेको थियो। सोही क्रममा सुकुम्वासी र नगरप्रहरीबीच तनावग्रस्त माहोल बनेको छ।
झडपको सम्भावना देखिएपछि नेपाल प्रहरीको अतिरिक्त टोली पनि घटनास्थलमा पुगेको थियो। घटनापछि बस्तीमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिकाले गत साउन ८ गते गोरखापत्रमार्फत सूचना जारी गर्दै निजी व्यक्तिको जग्गामा बनाइएका अवैध संरचना हटाउन ७ दिनको समय दिएको थियो। निर्धारित समयभित्र संरचना नहटाएपछि डोजर लगिएको हो।






