काठमाडौँ: जेनजी प्रदर्शनपछि उच्छृङ्खल समूहले गरेको आगजनी र तोडफोडका कारण काठमाडौँ उपत्यकाका अधिकांश प्रहरी युनिटहरू ध्वस्त भएका छन् । त्यसपछि अझै पनि प्रहरी कर्मचारीहरू काममा फर्कन नसक्दा सुरक्षा व्यवस्थामा चुनौती सिर्जना भएको छ ।
सुरक्षा सुदृढीकरणका लागि प्रहरी प्रधान कार्यालयले काठमाडौँ उपत्यकालाई आठवटा सेक्टरमा विभाजन गरी प्रत्येकमा छुट्टाछुट्टै प्रहरी अधिकृत (एसपी) परिचालन गरेको छ । यसै क्रममा पाल्पामा कार्यरत एसपी पवन भट्टराईलाई काठमाडौँ झिकिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकामा खटाइएका एसपीहरूमा दिपक श्रेष्ठ, पवन भट्टराई, कवित कटुवाल, रामेश्वर पौडेल, रुगम कुँवर, डिबी मल्ल, केशव भट्टराई र बालनसिंह राणा रहेका छन् । उनीहरूलाई ध्वस्त भएका प्रहरी युनिटको मर्मतसमेत समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।
क्षेत्रगत जिम्मेवारीअनुसार एसपी दिपक श्रेष्ठलाई कालीमाटी, कीर्तिपुर र थानकोट क्षेत्र, कवित कटुवाललाई सातदोबाटो क्षेत्र, रामेश्वर पौडेललाई दरबारमार्ग, सोह्रखुट्टे र जनसेवा क्षेत्र तोकिएको छ । त्यस्तै, रुगम कुँवरलाई बानेश्वर र सिंहदरबार, डिबी मल्ललाई बालाजु र स्वयम्भु, केशव भट्टराईलाई गौशाला र बौद्ध, तथा बालनसिंह राणालाई महाराजगञ्ज र मालिगाउँमा खटाइएको छ ।







