काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गर्दै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताएका छन्।
पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै सभापति थापाले धार्मिक तथा सांस्कृतिक पर्वहरूले हाम्रो मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
सभापति थापाले भने, “हिन्दू धर्मावलम्बीहरूले अत्यन्त श्रद्धा, भक्ति र आस्थाका साथ भगवान् शिवको आराधना गरी मनाउने महाशिवरात्रि हाम्रो धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको पवित्र पर्व हो।”
उनले नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न राष्ट्र भएको र महाशिवरात्रि जस्ता पर्वहरूले अनेकतामा एकताको भाव सुदृढ पार्दै सबै नेपालीबीच आपसी सम्मान, सहकार्य र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाउन मद्दत गरेको बताए।
अन्त्यमा सभापति थापाले सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलकामना व्यक्त गर्दै भगवान् शिवको कृपाले सबैमा सकारात्मक ऊर्जा, साहस र सत्मार्गमा अघि बढ्ने प्रेरणा प्रदान होस् भन्ने कामना गरेका छन्।






