काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको अवैध कारोबारबारे सूचना भए निःशुल्क ११३७ मा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
पछिल्ला दिनमा ग्यासमा कालोबजारी, लुकाएर राख्ने र बढी मूल्यमा बिक्री गर्ने घटनाहरू बढेपछि विभागले यस्तो अपिल गरेको हो। नेपाल आयल निगमले आधा सिलिण्डर मात्र वितरण गर्ने व्यवस्था गरे पनि बजारमा अभाव कायम रहेको छ।
विभागले अनुचित व्यापारिक गतिविधि पाइए कडा कारबाही गरिने चेतावनी दिएको छ। देशभर अनुगमन तीव्र बनाइएको र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही भइरहेको जनाएको छ।
यसैबीच, ग्यास लुकाएको आरोपमा श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। ललितपुरको हरिसिद्धिस्थित गोदामबाट ६ हजार ३७७ सिलिण्डर फेला परेको विभागले जनाएको छ।
विभागले कृत्रिम अभाव र गैरकानुनी गतिविधि नियन्त्रण गर्न सक्रिय रहेको बताउँदै सबै व्यवसायीलाई कानुनअनुसार काम गर्न सचेत गराएको छ।







