काठमाडौँ: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकाहुन्।
मन्त्रिपरिषद् सदस्यहरुमा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार, यातायात एवं सहरी विकास मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान, प्रविधि एवं खेलकुद मन्त्री, निशा मेहता स्वास्थ्य, जनसङ्ख्या एवं खानेपानी मन्त्री, डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री, प्रतिभा रावल सामान्य प्रशासन, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, गीता चौधरी कृषि, पशुपक्षी, वन तथा वातावरण मन्त्री, डा। दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका छन्।
त्यसैगरी, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री शाहले आफैं सम्हाल्ने छन्। शाहलाई संविधानको धारा ७६ (उपधारा १) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरिएको थियो।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, उच्च तहका सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख र कूटनीतिक नियोगका पदाधिकारीहरु उपस्थित थिए।







