रामेछाप,
वैशाख २१ रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा ले पत्रकारलाई कुनै किसिमको धम्की वा दबाब आए प्रशासनले आवश्यक कारबाहीसहित सुरक्षा प्रदान गर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ रामेछापले विश्व प्रेस स्वतन्त्रता दिवस २०८३ को अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रजिअ थापाले पत्रकारमाथि हुने धम्की, त्रास र अवरोधप्रति प्रशासन गम्भीर रहेको उल्लेख गरे। उनले समाचार लेख्दा कसैबाट धम्की आएको छ भने प्रशासनलाई जानकारी गराउनुस्, हामी आवश्यक कारबाही गर्छौं, भन्दै पत्रकारको सुरक्षाप्रति प्रशासन प्रतिबद्ध रहेको बताए।
प्रजिअ थापाले सरकारी कार्यालयका प्रमुखहरू पत्रकारको कार्यक्रममा सहभागी नभएको विषयप्रति असन्तुष्टि समेत व्यक्त गरे। कार्यालयले बोलाउँदा पत्रकार दिनभर बसेर सहयोग गर्ने, तर पत्रकारले बोलाउँदा कार्यालय प्रमुखहरू नआउने किन ? भन्दै उनले प्रश्न उठाए। यस विषयलाई कार्यालय प्रमुखहरूको बैठकमा समेत छलफल गर्ने उनले जानकारी दिए।
प्रजिअ थापाले पत्रकारिता पेशा जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिँदै समाचार लेख्दा व्यक्तिको गोपनीयताको अधिकारलाई समेत ध्यान दिन आग्रह गरे। समाचारले निकास दिनुपर्छ, अनावश्यक रूपमा गिजोल्ने काम हुनु हुँदैन, उनले भने, पत्रकारले संवेदनशील भएर तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न समेत आग्रह गरेका छन।






