रामेछाप। स्वेतगंगा हाइड्रोपावरले लिखु तामाकोसी गाउँपालिका–२ का वडा अध्यक्षलाई बन्धक बनाएको आरोप लागेपछि पनि प्रहरीले हालसम्म आरोपितमाथि कुनै कारबाही अघि नबढाएको गुनासो गरिएको छ।
वडा अध्यक्ष सन्तोष पौडेलका अनुसार असार ९ गते आयोजना प्रमुख सज्जन श्रेष्ठसहित हाइड्रोका कर्मचारीहरू तीनवटा गाडीमा आएर जनप्रतिनिधिमाथि अमानवीय व्यवहार गरेका थिए।
वडा सदस्य सुमि राईका अनुसार आयोजना प्रमुख सज्जन श्रेष्ठ र कर्मचारी रुचि जोशीले वडा अध्यक्षमाथि अभद्र तथा अमानवीय व्यवहार गरेका थिए। हामीले नीति तथा कार्यक्रमका लागि गाउँपालिका जान हतार भएको जानकारी गराउँदा पनि उहाँहरूले जान दिनुभएन, उनले बताइन्।
घटनापछि आरोपित श्रेष्ठ र जोशी कार्यालय छाडेर काठमाडौं गएको स्थानीयवासीको अनुमान छ। उनीहरू दुवैको मोबाइल फोनसमेत सम्पर्कमा नरहेको बताइएको छ। सार्वजनिक जिम्मेवारीमा रहेका कर्मचारी सेवाग्राही र नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा उनीहरू सम्पर्कविहीन बनेको स्थानीयको आरोप छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार हाइड्रोका अन्य कर्मचारी सम्पर्कमा आए पनि घटनामा आरोप लागेका श्रेष्ठ र जोशी भने हालसम्म सम्पर्कमा आएका छैनन्।
स्थानीयका अनुसार आरोपितहरू कानुनी प्रक्रियामा सहभागी भई आफ्नो गल्ती स्वीकार गर्नुको सट्टा विभिन्न नेतृत्वसँग भेटघाट गर्दै घटनालाई मिलाउने प्रयासमा लागेका छन्।
स्थानीय चन्द्रबहादुर राउतले हाइड्रोले नागरिकप्रति गरिने व्यवहारले स्थानीयवासी दिक्क भइसकेको भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।






