रामेछाप । रामेछाप नगरपालिकाका प्रारम्भिक बाल विकास (ECD) शिक्षक तथा मेन्टरहरूका लागि अङ्ग्रेजी भाषा शिक्षणलाई प्रभावकारी र बालमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको विशेष तालिम सम्पन्न भएको छ।
दुई क्लस्टरमा सञ्चालन गरिएको उक्त तालिममा रामेछाप नगरपालिकाका ३५ जना ईसीडी शिक्षक र ५ जना सेतो गुराँसका मेन्टरहरूको सहभागिता रहेको थियो। पहिलो क्लस्टर असार ४ देखि ८ गतेसम्म तथा दोस्रो क्लस्टर असार ९ देखि १३ गतेसम्म सञ्चालन गरिएको हो।
ध्वनि विज्ञान (Phonics) मा आधारित अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिममा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाकी प्रशिक्षक सचिता सुवालले सहजीकरण गर्नुभएको थियो। तालिममा बालबालिकालाई ध्वनि र उच्चारणका आधारमा अङ्ग्रेजी सिकाउने प्रभावकारी विधिबारे सहभागीहरूलाई सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
प्रशिक्षक सुवालका अनुसार सुरुआती चरणमै ध्वनिको सही पहिचान गराउन सके बालबालिकाले अङ्ग्रेजी भाषा सहज, सही र आत्मविश्वासका साथ पढ्न तथा लेख्न सक्ने क्षमता विकास हुन्छ। रटाउने पद्धतिभन्दा ध्वनि र उच्चारणमा आधारित सिकाइले बालबालिकाको भाषिक आधार बलियो बनाउने समेत उल्लेख गरिन।
तालिमपछि सहभागी शिक्षकहरूले प्राप्त ज्ञान र सीपलाई कक्षाकोठामा प्रयोग गरी अङ्ग्रेजी शिक्षणलाई अझ प्रभावकारी, व्यावहारिक र बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सेतो गुराँस राष्ट्रिय बालविकास सेवाकी रामेछाप जिल्ला संयोजक मैयाँ बस्नेतका अनुसार, यस प्रकारका क्षमता अभिवृद्धिमूलक तालिमले प्रारम्भिक बाल विकास शिक्षकहरूको शिक्षण दक्षता वृद्धि गर्नुका साथै बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता समेत गरेकी छन।






