काठमाडौं । गृह मन्त्रालयले देशभरका होटल तथा रेस्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र स्वच्छतामा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी ९सिडिओ०लाई परिपत्र जारी गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा खाद्य गुणस्तरसम्बन्धी मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो।
होटल तथा रेस्टुरेन्टमा अस्वच्छ र गुणस्तरहीन खाना बिक्री–वितरण भइरहेको भन्दै सर्वसाधारणबाट बढ्दो गुनासो आएपछि मन्त्रालयले अनुगमनलाई थप प्रभावकारी बनाउन यो कदम चालेको जनाएको छ।
त्यसैगरी, नागरिकका गुनासोको छिटो सुनुवाइ र समाधानका लागि प्रत्येक जिल्ला प्रशासन कार्यालयमा हटलाइन वा द्रुत सेवा डेस्क स्थापना गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई प्राप्त गुनासोको तत्काल सम्बोधन गर्दै सेवा प्रवाहमा जवाफदेहिता र प्रभावकारिता बढाउन समेत आग्रह गरेको छ।







