गजल
सागर पुगेर पनि किनार बिर्सेको छैन
हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
झटारो हान्दा पनि मिठो फल दियो रुखले
तर तिम्रो त्यो निर्मम प्रहार बिर्सेको छैन
जीवित देखेर मलाई छक्क पर्या छ मित्र
आफैँले गर्या झुटो प्रचार बिर्सेको छैन
बिर्सिइयो होला धेरै अतितका कुराहरू
चुमेर छोडेको त्यो निधार बिर्सेको छैन
लिनेले कहाँ भुल्छ दिनेले झैँ सजिलै
घाइते छातीले तिम्रो तरबार बिर्सेको छैन
सुवाष चापागाईं, रामेछाप ।






