चितवन । चितवन प्रहरीले आफ्नै १९ वर्षीया छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ४५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनीष श्रेष्ठका अनुसार पीडित युवती आफैं प्रहरी कार्यालयमा पुगेर बाबुविरुद्ध उजुरी दिएपछि प्रहरीले भदौ ४ गते आरोपितलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार आरोपितकी श्रीमती र छोरा जापानमा रहेका बेला घरमा उनी र छोरी मात्रै बस्दै आएका थिए। पीडितले दिएको उजुरीअनुसार साउन २८ गते मादक पदार्थ सेवन गरेका बाबुले धम्की दिँदै आफूमाथि जबरजस्ती करणी गरेको आरोप छ।
प्रहरीका अनुसार आरोपित करिब आठ महिनाअघि जापानबाट नेपाल आएका थिए। उनी केही समयपछि पुनः जापान फर्किने तयारीमा रहेको बताइएको छ।
पक्राउ परेका आरोपितमाथि अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।







