काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित तथा असंसदीय शब्दहरू संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
सभामुख अर्यालले भदौ १ र ३ गते बसेका प्रतिनिधि सभा बैठकमा प्रयोग भएका केही शब्द तथा अभिव्यक्ति संसद्को मर्यादा र गरिमाविपरीत रहेको ठहर गर्दै संघीय संसद् सचिवालयलाई ती शब्द अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।
निर्देशनअनुसार भदौ १ गतेको बैठकमा रास्वपा सांसद इन्दिरा राना मगरले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ लगायतका शब्द संसद्को आधिकारिक अभिलेखमा नरहने भएका छन्।
त्यस्तै, भदौ ३ गतेको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सम्बोधनका क्रममा प्रयोग गरेका केही शब्द तथा वाक्यांश पनि अभिलेखबाट हटाउन निर्देशन दिइएको छ। थापाले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ शब्द हटाउन सभामुखले सचिवालयलाई निर्देशन दिएका हुन्।
सभामुख अर्यालले संसद्मा सम्बोधन गर्दा मर्यादित र संसदीय भाषाको प्रयोग गर्न सांसदहरूलाई ध्यानाकर्षण गराएका छन्। कसैको मानमर्दन हुने वा संसद्को गरिमा प्रभावित हुने गरी शब्द चयन नगर्न पनि उनले आग्रह गरेका छन्।
सभामुखको निर्देशनपछि संघीय संसद् सचिवालयले सम्बन्धित शब्द तथा अभिव्यक्तिलाई संसद्को आधिकारिक अभिलेखबाट हटाउने प्रक्रिया अघि बढाउनेछ।






