काठमाडौं:- नयाँ बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरीमाथि हातपात गर्न खोजेको आरोपमा २७ वर्षीय राज कठायत पक्राउ परेका छन्।
जुम्लाको तातोपानी गाउँपालिका–२ का कठायतले जथाभावी सडक पार गर्न खोजेपछि महिला प्रहरीले आकाशे पुल प्रयोग गर्न आग्रह गर्दा विवाद भएको प्रहरीले जनाएको छ। त्यसक्रममा उनले महिला प्रहरीमाथि हातपात गर्न खोजेपछि अन्य प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएका थिए।
कठायतलाई बानेश्वर प्रहरी वृत्तको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उनीमाथि राष्ट्रसेवकलाई कर्तव्य पालनमा बाधा पुर्याएको तथा तोकिएको स्थानबाट मात्र सडक पार गर्नुपर्ने कानुनी व्यवस्था उल्लंघन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनापछि पूर्वडीआईजी हेमन्त मल्लले पछिल्लो समय बढेको अराजक मानसिकताले प्रहरीमाथि समेत आक्रमणका घटना बढाएको टिप्पणी गरेका छन्। उनले प्रहरीको मनोबल उच्च राख्न सरकार र गृह मन्त्रालय गम्भीर हुनुपर्ने बताएका छन्।







