काठमाडौं । तिब्बतबाट रसुवा हुँदै नेपाल भित्रिएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १०० पुगेको छ। नेपाल प्रहरीले बुधबार राति साढे ८ बजेसम्म बाढीका कारण १०० जनाको मृत्यु पुष्टि भएको जनाएको छ।
प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ११, धादिङमा १८, चितवनमा ३३, गोरखामा १९, तनहुँमा ७ र नवलपरासी पूर्वमा ११ जनाको शव फेला परेको छ।
बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ। साथै, स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वय र सहकार्यमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बाढीका कारण विभिन्न स्थानमा अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ। उद्धार, खोजी तथा अवरुद्ध सडक सञ्चालनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।






