सुर्खेत । वीरेन्द्रनगरमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । जाजरकोटको शिवालय गाउँपालिका–४ ठेगाना भएको र शाल वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदीमा बस्दै आएका ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीका अनुसार मृत्यु हुनेमा कल्पा बुढा बर्ष ३५, उनका छोरा निरज बुढा बर्ष ९, चिरञ्जीवि बुढा बर्ष ८ र कल्पाका दाई मान बुढाका छोरा सोमराज बुढा बर्ष ५ छन् ।
उनीहरु बन्द गरेको ढोका भित्र तसलामा कोइला बालेको अवस्थामा मृत भेटिका हुन । आगो ताप्ने क्रममा निसास्सिएर मृत्यु भएको हुनसक्ने घटनाको प्रारम्भिक अनुसन्धानमा देखीएको डिएसपी घर्तीले जनाएका छन् ।
उनिहरू शनिबार साँझ ६ बजे मृत अवस्थामा भेटिएका हुन् । मृतक कल्पाका श्रीमान जाजरकोटबाट आउँदै गरेकाले घटनाको थप अनुसन्धान भैरहेको सकेत जनाईएको छ ।