काठमाडौं । बलात्कारको आरोप लागेका मुगुका सांसद मोहन बानियाँ विरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ । अदालतले मंगलबार बानियाँ विरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले पुष्टि गरेका हुन् ।
जुम्लाकी शिक्षिकाले सांसद बानियाँ बिरुद्ध बलात्कारको जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । बानियाँले आफूलाई बाँकेको अप्सरा होटलमा जबरजस्ती करणी गरेको जाहेरी लगत्तै अनुसन्धान थालेको प्रहरीले बानियाँ विरुद्ध पक्राउ पुर्जी लिएको र अब बानियाँको खोजी सुरु गरेको बाँके प्रहरीले बताएको छ ।
सूचना अधिकारी समेत रहेका डिएसपी न्यौपानेका अनुसार प्रहरीमा जाहेरी परेको लगत्तै सांसद बानियाँले सम्पर्क गरी आफ्नो कुनै गल्ती नभएको बताएका थिए । अनुसन्धानलाई सघाउने बताएको भए पनि प्रहरी कार्यालयमा भने उपस्थित नभएको प्रहरीको जनाएको छ ।
पक्राउ पूर्जी जारी भइसकेपछि भने बानियाँसँग सम्पर्क भएको छैन । बानियाँ रहेको स्थानको प्रहरीसँग समन्वय गरी बानियाँलाई बाँके ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बानियाँलाई अनुसन्धानको दायरामा ल्याएपछि बाँकी प्रक्रिया अगाडि बढ्ने पनि प्रहरीले बताएको छ ।